
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तुले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने सरकारको निर्णय विरुद्ध आइतवार प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र पठाएको छ ।
किसानहरूलाई दिइँदै आएको एक मात्रै अनुदान पनि कटौती गरेको भन्दै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञपान पत्र पठाएको हो ।
किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्य बृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय र अनुचित रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कृषिजन्य वस्तुको उत्पादन लागत बढेको अवस्थामा यसले किसानलाई उत्पादन लागत बढाई छिमेकी देशहरुको उत्पादनसंग प्रतिस्पर्धा गर्न नसक्ने थप जोखिम वढाएको राप्रपा कपिलवस्तुको ठहर रहेको छ ।
‘माग बमोजिम खेती गर्ने समय अगावै मल आपूर्ति गर्न नसकेको अवस्थामा गरिएको अनुदान कटौतीको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भर्त्सना गर्दछ । तसर्थ अनुदान कटौती तथा मूल्य बृद्धि सम्वन्धी यो निर्णय तत्काल फिर्ता लिन, सर्व सुलभ ढंगले मल आपूर्तिको व्यवस्था मिलाउन, मल आपूर्तिको दीर्घकालिन समस्या समाधानका लागि देशभित्र रासायनिक मल कारखाना स्थापनाको प्रक्रिया तत्काल प्रारम्भ गर्न र किसानबाट उत्पादित वस्तुको उचित मूल्य र वजारको व्यवस्था गर्न राप्रपा सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछ ।’ ज्ञापन पत्रमा भनिएको छ ।
जिल्ला अध्यक्ष नारायण बहादुर सिङ, विजयराम पाण्डे बहुराम पाण्डे लगायतको उपस्थितीमा उक्त ध्यान ज्ञापन पत्र पठाइएको हो ।