पाल्पाको २७ वडाका वन डढेलोको उच्च जोखिममा

पाल्पा । जिल्लाको १० पालिकामध्ये सात पालिका वन डढेलोको उच्च जोखिममा छन्। जिल्लाका तिनाउ, रिब्दीकोट, तानसेन, रैनादेवी माथागढी, निस्दी र पूर्वखोला उच्च जोखिममा रहेका डिभिजन वन कार्यालय पाल्पाका वन अधिकृत उपेन्द्र अर्यालले बताए।

उनका अनुसार सातवटा स्थानीय तहका २७ वडा वन डढेलोको उच्च जोखिममा रहेका छन् । जिल्लाका एकासी वडा मध्ये ३३ प्रतिशत  डढेलोको उच्च जोखिममा छन् । डिभिजन वन कार्यालय पाल्पाको तथ्यांकअनुसार जिल्लामा वन डढेलो हुनुका प्रमुख कारण  मानवीय  नै हो।

जिल्लामा आर्थिक वर्ष २०७७\७८ मा ७१ स्थानमा वन ढडेलो लागेको थियो, यसमा एक जनाको ज्यान गएको थियो । वन अधिकृत अर्यालका अनुसार २०७८\७९ मा अधिक वर्षा हुँदासमेत पाँच स्थानमा वन ढडेलो लागेको थियो ।

जिल्लामा सात सय बढी सामुदायिक वन छन्। यिनै सामुदायिक वनमा अधिक डढेलो हुने गरेको छ। ‘मानवीय कारण नै वन डढेलोका घटना बढी हुने गरेका छन्’, डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराई भन्छन्, ‘जनचेतना जगाउनु नै यसको अन्तिम विकल्प हो।’

जिल्लामा अग्नि नियन्त्रणका लागि उपकरण र जनशक्ति दुवै छैनन् । उनका अनुसार तानसेन नगरपालिकामा एउटा दमकल छ। अन्य नौ स्थानीय तहसँग दकमल छैनन् । जेट सुटर, फायर एक्जुगेटर र सुटको प्रयोगबाट मात्रै अग्नि नियन्त्रणको प्रयास हुँदै आएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकायको परिचालनबाट अग्नि नियन्त्रण हुँदै आएको बताए।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation