बाणगंगाले मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई यातायात सेवा उपलब्ध गराउने

कपिलवस्तु । बाणगंगा नगरपालिकाले मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई यातायात सेवा उपलब्ध गराउने भएको छ । आज सम्पन्न बाणगंगा नगरपालिकाको ११ औँ कार्यपालिका बैठकले नगर भित्र डायलाइसिस गराइरहेका विरामिहरुको लागि यातायात खर्च बापत २ लाख ५० हजार बिनियोजन गरेको नगर प्रवक्ता तथा वडा नम्बर दुईका वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनु भएको छ ।

त्यस्तै कार्यपालिका बैठकले आर्थिक वर्ष ७९/८० मा सम्पन्न हुने योजनाको समिक्षा पनि गरेको छ । जस अनुसार उपभोक्ता बाट सम्पन्न हुने ३४३ वटा योजना मध्ये १२१ वटा योजनाहरु सम्पन्न भएर निकासा पनि भैसेको जनाइएको छ । त्यस्तै ठेक्का मार्फत सम्पन्न हुने ६१ वटा योजना मध्ये २ वटा योजना सम्पन्न भएको र अन्य योजनाहरु संचालनमा रहेको प्रवक्ता पौडेलले बताउनु भएको छ ।

त्यस्तै वडा नम्बर ६ र ७ मा गरेर दुई वटा खोप केन्द्र निर्माण गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ । जसको लागि ७/ ७ लाख रुपैयाँ पनि बिनियोजन गरिएको छ ।

त्यस्तै अन्तराष्ट्रि अन्डर १९ क्रिकेटमा सामेल रहेका वडा नम्बर ५ का दुर्गेश गुप्ता, अन्तराष्ट्रि म्याराथुन धावक वडा नम्बर ९ का अजय पण्डे र अन्तराष्ट्रि क्रिकेट खेलाडीहरुको थेरापिष्ट वडा नम्बर ८ का विक्रम न्योपानेलाई सम्मान गर्ने पनि नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाणगंगामा ७०० जनाले आवेदन भरेका र त्यसको स्वकृतको लागि प्रदेश सरकारमा पठाउने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।

बैठकले बाल क्लब गठन गर्ने निर्देशिका संसोधन गर्ने निर्णय पनि गरेको छ । बैठकमा लेखा प्ररिक्षण प्रतिवेदन विषयमा लेखा अधिकृत केशवराज गैरेले जानकारी गराउनु भएको थियो ।

नगरको ११ औँ कार्यपालिका बैठक नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको संचालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation