रसिया सगँ नेपाल ३–० गोलले पराजित

काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले रसियासँग हार व्यहोरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाललाई रसियाले ३-० गोल अन्तरले हराएको हो ।

पहिलो हाफमा रसियालाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा गोल व्यहोरेको थियो । खेलको ६३ औं मिनेटमा एलिनाले गोल गर्दै रसियालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७४ औं मिनेटमा एलिना गोलीकले व्यक्तिगत दोस्रो गोल गर्दै रसियालाई २-० को अग्रता दिलाए ।त्यसपछि खेलको ८३ औं मिनेटमा पोलिनाले गोल गर्दै रसियालाई ३-० को जित दिलाईन् ।

रसियाको यो लगातार तेस्रो जित हो । रसियाले ३ खेलमा ९ अंक जोडेको छ ।रसिया शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालको यो दोस्रो हार हो । नेपाल ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।

नेपालले अब चौंथो खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ ।राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation