कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ले सुत्केरी महिलालाई पौष्ट्रिक आहार प्रदान गरेको छ । गत साउन १ गतेपछी वडाभित्र भएका दुई सय जना भन्दा बढी सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको हो।
मंगलबार मोतिपुर स्वास्थ्य चौकीमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं ८ का वडाध्यक्ष बाबुराम अर्यालले बालबालिका परिवार, समाज र राष्ट्रको भावि आधारस्तम्भ भएकाले उनीहरुको शारिरीक, मानसिक, सामाजिक विकासको लागी पौष्ट्रिक आहार आवश्यक पर्ने हुर्दा वडाले पौष्ट्रिक आहार उपलब्ध गराएको बताउनुभयो ।
वडाध्यक्ष अर्यालले आगामी दिनमा पनि सुत्केरी आमा र शिशुको स्वास्थ्यलाई मध्येनजर गरि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रमका बिचमा वडा नम्बर ८ को चालु आर्थिक वर्षको वार्षिक बजेट अन्तरगत वडा भित्रका सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको मोतिपुर स्वास्थ्य चौकी प्रमुख हिमलाल घिमिरेले जानकारी दिनुभयो । सुत्केरी आमाहरुलाई पोषणको मात्रा बढी आवश्यक पर्ने तथा आमा र बच्चाको स्वास्थ्यलाई सबल बनाउन चना, मह र अण्डा वितरण गरिएको घिमिरेले बताउनुभयो । कार्यक्रममा समाजसेवी, स्वास्थ्य चौकीका कर्मचारीहरु लगाएतको उपस्थितिमा सामाग्री वितरण गरिएको हो ।