रुपन्देहीको बेलहिया नाका हुँदै आएका ३६ जनामा कोरोना संक्रमण

बुटवल । पछिल्लो ४ दिनमा भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएका ३६ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएपछि लुम्बिनी प्रदेश सरकारले अघिल्लो सातादेखि सीमा नाकामा कोभिड जाँच तथा हेल्प डेस्क राखेको थियो ।

शंकास्पद व्यक्तिहरूमा नमुना परीक्षण गर्दा यति धेरै संक्रमित भेटिएका हुन् ।

बेलहिया हेल्प डेस्कका अहेब सुनिल न्यौपानेका अनुसार शनिबार बनारसबाट फर्किएका भरतपुरका ४५ जना नेपाली तीर्थयात्रीहरूको परीक्षणको क्रममा ११ जनामा ओमिक्रोन देखिएको थियो । आइतबार १ सय ५९ जनाको परीक्षण गर्दा १७ जनामा, सोमबार ९२ जनाको परीक्षण गर्दा ३ जनामा र मंगलबार २ सय ३२ जनामा परीक्षण गर्दा ६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । भारतीय सहरबाट रोजगारी गरी फर्कने तथा तीर्थाटन गरेर आउने व्यक्तिमा बढी संक्रमण देखिएको छ ।

ल्याब सहायक खिमा डाँगीले सीमा नाकाबाट सबैको कोभिड परीक्षण सम्भव नहुँदा समूहमा आएकामध्येबाट नमूना परीक्षण गरिँदै आएको बताइन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation