खेल क्षेत्रको अभावलाई समाधान गर्ने काम गर्छु, खेलकुद मन्त्री लिम्बु

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताउनुभएको छ।

बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो। उहाँले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरा आफ्नो प्राथमिकता रहने बताउनुभयो। उहाँले आम नागरिकले देख्नेगरी काम गर्ने बताउनुभयो। उहाँले हरेक कुरालाई सकारात्मक ढङ्गबाट लिनपनि आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरूले, पदाधिकारीले जे अभाव महसुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु। सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्नेगरी काम गर्नेछु। केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म। हरेक कुरालाई सकारात्मक ढङ्गबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्नेकुरा खेलाडी साथीहरूले देखाइरहनुभएको छ। म १८ घण्टाको समय दिएर काम गर्नेछु।’’

खेलकुद मन्त्री लिम्बुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गर्नुभएको हो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation