
बर्दिया । ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ०७९ साल चैतदेखि ०८० वैशाख १२ गतेसम्म पटकपटक बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डीएसपी हिक्मत बहादुर बोहोरा बताए ।
पक्राउ पर्ने ती व्यक्तिको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन । बालिकाकी आमा वैदेशिक रोजगारको शिलशिलामा विदेश भएको समयमा उक्त घटना भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
बाबुले छोरीलाई घटना सार्वजनिक नगर्न दबाब दिँदै आएको पनि प्रहरीले जनाएको छ । पछिल्लो पटक बालिकाले बाध्य भई प्रहरीलाई जानकारी गराएपछि बाबुलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो ।
यसबीचमा प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण पनि गराएको छ । पक्राउ परेका ती व्यक्तिविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।