
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्। सोमबार दाङको टरिगाउँ एयरपोर्टमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले अन्य प्रदेशमा लुम्बिनीमा छिट्टै सरकारले पूर्णता पाउने बताए।
उनले भने, ‘सुदूरपश्चिममा पनि लामो समयदेखि सरकारले पूर्णता पाएको छैन। सबै ठाउँमा सँगै गरौँ भन्ने हाम्रो नीतिगत निर्णय भएको छ। अबको २/४ दिनमा सरकारले पूर्णता पाउँछ।’
उनले लुम्बिनीमा सत्तारुढ दलसँग भागबन्डा मिलेको भन्दै सरकार बनाउनुभन्दा पहिला कसरत हुने र सरकार बनेपछि कुनै कसरत नहुने पनि बताए।
हाल भएका मन्त्रालय थपघट के हुन्छ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा मुख्यमन्त्री चौधरीले थपघट हुने बारेमा एक/दुई दिनमा देखिने भन्दै अहिले यही हुन्छ, भन्ने अवस्था नरहेको समेत बताए। अघिल्लो एमाले नेतृत्व सरकारले मन्त्रालयको संख्या घटाएर १० मा झारेको छ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई नजिकबाट हेर्दै र सुन्दै आएको समेत बताए। उनले भने, ‘त्यो प्रकरणमा प्रदेश सरकारले हेर्ने र सुन्ने बाहेक अरु केही छैन। त्यो हाम्रो क्षेत्रमा पर्दैन। व्यक्तिगत रुपमा पनि देखिरहेको छु, सुनिरहेको छु। व्यक्तिगत धारणा बनाउनुपर्ने बेला अझै भएको छैन।’
चौधरी यही वैशाख १२ गते मा मुख्यमन्त्री नियुक्त भएका थिए। नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी पनि मन्त्री नियुक्त भएका छन्। तर उनीहरूले अहिलेसम्म मन्त्रालयको जिम्मेवारी पाएका छैनन्।
वर्तमान सरकारलाई ८ राजनीतिक दल र एक जना स्वतन्त्र सांसदको समर्थन छ।