भुटानी शरणार्थी प्रकरणमा आरजुलाई तोसिमाको प्रश्नः भ्रष्टाचारमा लिङ्ग जोडिन्छ?

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारमा लिङ्ग नजोडिने बताएकी छन्।  मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा. कार्कीले नेपाली कांग्रेसकी सांसद् डा. आरजु राण देउवातर्फ संकेत गर्दै  भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ? भन्दै प्रश्न गरेकी हुन्।

केही दिन अगाडि डा. देउवाले संसद बैठकमा भुटानी शरणार्थी प्रकरणको टेप काण्डको अनुसन्धान माग गर्दा महिला हिंसा भन्दै गुनासो गरेकी थिइन्।

‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिला बिद्रोही भयो, महिला हिंसा भयो। मलाई उत्तर दिनुपर्यो। भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ? भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ। अपराध भएको छर कारबाही हुनुपर्छ,’ उनले भनिन्।

साथै उनले भुटानी शरणार्थी प्रकरणका दोषिलाई पक्राउ पुर्जी जारी गर्दा समेत जोगाउन खोजिएको बताउँदै काण्ड गरेर देश डुबाउने अनि के मुखले अनुदान माग्न जाने? भन्दै प्रश्न गरेकी हुन्।

‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषिलाई पक्राउ पुर्जी जारी गर्दा समेत जोगाउन खोजिएको छ। एकले अर्कालाई जोगाइरहने, काण्डै काण्ड गरिरहने अनि यो देश डुबाइरहने? अन्तराष्ट्रियस्तरमा समेत राष्ट्रलाई नै दलाली साबित गर्ने? अनि के मुखले अनुदान माग्न जाने?’ डा. कार्कीले भनेकी छन्।

सांसदहरूको सम्पति विरवरण समेत वेवसाइटमा सार्वजनिक गर्न समेत उनले माग गरेकी छन्।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation