
काठमाण्डौ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा सांसद शर्माले देशको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिनुभयो ।
भ्रष्टाचारको विषयमा कुनै पनि हदम्याद राख्न नहुने र भ्रष्टाचारको विषयमा राज्यले फाइल नभई ‘फायर’ खोल्नुपर्ने उहाँको भनाइ थियो । ‘सरकार र नीति क्षेत्रको काम स्पष्टरूपमा बाँडफाँट गरेर काम गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्छ, अन्य नीति क्षेत्र नेपालमा लगानीमैत्री वातावरण बनाउनुपर्ने जरुरी छ ।’
सांसद शर्माले नेपालको प्रशासनिक काममा अझै कायम झन्झटिलो व्यवस्थाको अन्त्य गर्नुपर्ने र सरकारले लहडका भरमा नभई विज्ञहरूको सुझावमा आधारमा प्रतिफल दिने विषयमा मात्र बजेट लगानी गर्न सुझाव दिनुभयो ।
पुल बनाउने र सडक बनाउने कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै उहाँले विश्वका सबैभन्दा ठूलो र अर्थतन्त्रमा शक्तिशाली राष्ट्र २०५० सम्म चीन र त्यसपछि भारत शक्तिशाली हुने भनिएको हुँदा नेपालले पनि भिजन ९५ लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा रोजगारीको सिर्जना गर्नुपर्ने खालको बजेट विनियोजना गर्नुपर्नेमा जोड दिँदै उहाँले विवशताको आँसु बगाउँदै कोही पनि नेपालीमा विदेशमा जानुपर्ने वतावरणको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो ।
सांसद शर्माले सत्तापक्ष र प्रतिपक्ष जो भए पनि कमजोरी र उपलब्धि सबै साझा भएको हुँदा प्रतिकूलतामा बाँचिएको भए पनि अबको हरेक क्षेत्रलाई समृद्ध बनाएर एकताका साथ अघि बढनुपर्ने सुझाव दिनुभयो ।