
काठमाडौँ । पक्राउ पुर्जी जारी भएर फरार रहेका नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ।
प्रहरीले ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा खानतलासी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँ र ललितपुरको टोलीले छापा मारेको प्रहरीले जनाएको छ।
टोपबहादुरविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ।
पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले खोजिरहेको छ। नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी बुधबार अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका थिए।
उनी अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर सहभागी भएका थिए। उनीसँगै यो कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए।
कार्यक्रमपछि सन्धिखर्कमा पत्रकारहरुसँग कुराकानी गर्दै यस घट्नामा आफ्नो पनि नाम जोडिएकोप्रति अचम्ममा परेको उनले बताएका थिए। साथै कानुनलाई सहयोग गर्नेसमेत प्रतिक्रया उनले दिएका थिए। कानुनलाई सघाउँछु भनेका रायमाझी बुधबार रातिदेखि नै फरार छन्। उनको फोनसमेत स्विच अफ रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनको अन्तिम लोकेसन भैरहवामा ट्र्याक भएको प्रहरीले बताएको थियो।
रायमाझी बुधबार नै समाभुख घिमिरेसँगै काठमाडौँ फर्किने भन्दै सोही प्लेनमा टिकटसमेत भइसकेको थियो। तर, यता काठमाडौँ विमानस्थलमा झर्नेबित्तिकै प्रहरीले उनलाई पक्रिने सुइँको पाएपछि उनी फरार भएका हुन्। उनी बुटवलतिर लुकेर बसेको हुनसक्ने प्रहरीको अनुमान छ।
उनलाई काठमाडौँबाट खटिएको प्रहरी टोलीले खोजी गरिरहेको छ। उता बुटवल प्रहरीले पनि रायमाझी पक्राउ परिनसकेको जानकारी दिएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि टोपबहादुर र उनका छोरा सन्दीपविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो। रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरिसकेको छ। प्रहरीका अनुसार उनलाई बुधबार साँझ नै पक्राउ गरिएको हो।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि उनको बयानका आधारमा रायमाझीका बाबुछोरालाई पक्राउ पुजी जारी भएको हो।