
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको वास्तविक अवस्था सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यक्ष लिङ्देनले यस्तो जघन्य अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन नमिल्ने बताए ।
‘अहिले नक्कली भुटानी शरणार्थीको नाममा जुन काण्ड भएको छ, जुन चर्चा भइरहेको छ, त्यो केवल आर्थिक भ्रष्टाचारमात्रै होइन, त्यो ठगी राज्यविरुद्धको अपराध, संगठित अपराध र सरकारी कागजी किर्तेसम्बन्धी अपराध हो, यो जघन्य अपराध हो,’ उनले भने, ‘यसमा संलग्न कसैलाई पनि छुट दिने कल्पना नगरौँ । यस्तो कार्यमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन मिल्दैन ।’
उनले सरकारले सो प्रकरणका विषयमा नागरिकलाई स्पष्ट पार्न नसक्दा सरकारको नियत र शीर्ष नेताहरूको भेटघाटलाई समेत शंकाको नजरले हेर्न थालिएको बताए । ‘शीर्ष नेताहरूको बैठकलाई समेत जनताले आशंकाको दृष्टिकोणले हेरिरहेको अवस्था छ । शीर्ष नेताहरूको मनसाय गलत छैन, सरकारको मनसाय गलत छैन भन्नकालागि पनि यसको अवस्था के हो ? सरकारले संसद्लाई जानकारी गराओस् भन्ने हाम्रो माग हो,’ उनले भने ।
त्यसअघि राप्रपाले समसामयिक विषयमा बोल्न माग गर्दै बैठकमा अवरोध पुर्याएको थियो । राप्रपाले नाराबाजी गरेपछि सभामुखले बैठक नै स्थगित गरेका थिए ।