शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थिति अन्त्य हुन जरुरी : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने अवस्था अन्त्य गर्न जरुरी रहेको बताएका छन्।

मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्। उनले क्याम्पसको शुल्क तिर्न नसकेर मर्नुपर्ने बाध्यता अन्त्य गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने माग गरे। उनले शिक्षा समितिले पनि यसबारेमा आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए।

उनले भने, ‘शुल्क तिर्न नसकेकै आधारमा कोही पनि विद्यार्थी मर्नु नपर्ने स्थिति सरकारबाट सिर्जना हुनुपर्छ, त्यो वातावरण सरकारले निर्माण गर्नुपर्छ। समितिले यो कुरा अघि बढाउनुपर्छ। मैले आफ्नो जिल्लाका केही पालिकामा यसबारेमा भनिसकेको पनि छु।’

केही समयअघि मात्रै क्याम्पसमा शुल्क तिर्न नसकेकै कारण एक विद्यार्थीले आत्महत्या गरेका थिए। सोही प्रसंगलाई लिएर मन्त्री बस्नेतले क्याम्पस शुल्क तिर्न नसकेकै कारण मर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सरकारले शिक्षालाई प्राथमिकता दिएर अघि बढ्न जरुरी रहेको बताए।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation