अब हरेक विषय शिक्षकलाई सूचना प्रविधिको जानकारी अत्यावश्यक : डा. ढुङ्गाना

कमला सापकोटा पौडेल, जितपुर ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. बाबुराम ढुंगानाले अब जुन विषयको शिक्षक बन्न पनि सूचना प्रविधिको विषयमा जानकारी हुनै पर्ने बताउनुभएको छ । होराईजन अंग्रेजी आवासीय मा.वि.ले आयोजना गरेको नयाँ पाठ्यक्रम विकास सम्बन्धि अभिमुखिकरण कार्यक्रमलाई विहिवार सिद्धिपुर कपिलवस्तुमा सम्बोधन गर्दै डाक्टर डुंगानाले सूचना प्रविधिको विषयमा जानकारी नभएका शिक्षकहरुलाई अब विद्यार्थी नटेर्ने भएकोले यस्को जानकारी रहनु अपरिहार्य रहेको बताउनु भएको हो ।

“जुनसुकै कामको गति विज्ञानले बढाउँछ, हामी हाम्रा इन्द्रीयहरुको आवश्यक मात्रामा प्रयोग गरेर मात्रै सिकाईलाई प्रभावकारी तरीकाले अगाडी बढाउन सक्छौँ ढुंगानाले भन्नुभयो ।” सोहि कार्यक्रमलाई सम्बोधन गर्दै वाणगंगा नगरपालिका शिक्षा विकास शाखा प्रमुख खीम बहादुर जिसीले नगरले आयोजना गर्नु पर्ने खालको कार्यक्रम होराईजन मावि सिद्धिपुरले आयोजना गरेको प्रति विद्यालय परिवारलाई हार्दिक बधाई समेत ज्ञापन गर्नुभयो । जिल्लाको मात्रै नभएर देशकै नमूना होराईजन मा.वि.मा सञ्चालित अभिमुखिकरण कार्यक्रमले शिक्षण सिकाईलाई थप प्रभावकारी तुल्याउने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य बासुदेव घिमिरेले होराईजन माविको यस किसिमको अवसर प्रदान गरेको प्रति पाठ्यक्रम विकास केन्द्रलाई हार्दिक बधाई ज्ञापन गर्दै निष्पक्ष किसिमले गरिएका हरेक प्रतिश्पर्धामा कहिल्यै दोस्रोे हुन नजानेको विद्यालयको विरासतलाई कायमै राख्न यस किसिमका कार्यक्रम कोशेढुंगा सावित हुने दावी गर्नुभयो । कार्यक्रम विद्यालय सञ्चालक समिति सदस्य खगेश्वर अधिकारी लगायतको अतिथ्यता र सदस्य कमल पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation