सत्ता पक्षबाटै गलत आरोप लगाइएको भन्दै एमालेले गर्‍यो प्रतिनिधिसभा अवरोध

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सत्ता पक्षका सांसदहरूले प्रतिपक्षी दलका नेताले भ्रष्टाचार गरेको भनेर निराधार आरोप लगाएको भन्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेकोमा एमाले सांसदहरूले त्यसभन्दा अगाडि भ्रष्टाचारको निराधार आरोप लगाइएको विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै बैठक अवरुद्ध पारेका हुन् ।

बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्तारुढ दल माओवादी सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीमाथि झुटो आरोप लगाएको बताए । माओवादी सांसद दाहालले ओलीले पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी राखेको भने गलत प्रचार गरेको प्रमुख सचेतक गिरिको भनाइ छ ।

एमाले संसदीय दलको उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङले कारबाही गर्ने स्थानमा बसेर आधारहीन कुरा राख्न नहुने बताए । उनले भने, ‘सत्तापक्षको तर्फबाट जिम्मेवार एकजना सांसदले जुन कुरा राख्नुभयो त्यो आधार छैन । गैरजिम्मेवारपूर्ण छ । आफू सरकार चलाइराख्नुभएको छ । सम्पूर्ण डाडुपन्यु छ । सरकार सबै कुरा थाहा पाउँछ । संसद्को रोस्ट्रममा उभिएर भन्नुभयो, सुनको जलहरीको नाममा पित्तलको जलहरी चढाएर भ्रष्टाचार भएको छ ।’ कि प्रमाणित गर्नुपर्ने नत्र गलत आरोप लगाउन नपाइने उनको भनाइ छ, ‘दूधको दूध पानीको पानी होस् र सुनको जलहरी होइन भने प्रमाणित होस् । यदि होइन भने प्रमाणित गर्नुपर्छ कि पर्दैन ।’

त्यस्तै सत्तारुढ दल माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संसद्लाई व्यवस्थित ढंगले चलाउनुपर्ने बताए । उनले भने, ‘हामी संसद्‍मा छौं । हामी संसदलाई व्यवस्थित रूपमा अघि बढाउने कुरा गरिरहेका छौं । हामी प्रमुख प्रतिपक्ष दलमा विषय बोल्न पाइन्छ । यो देशमा जसरी भ्रष्टाचार भइरहेका विषय भइरहेको छ । यो कार्यक्रममा राख्छ ।’

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation