कांग्रेस आलोचनाबाट डराउँदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन्।

उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए करेक्शन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उनको तर्क थियो।

नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

प्रजातन्त्रको खिलापमा एकथरी लागि परेको उल्लेख गर्दै उनले त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरु लाग्नुपर्ने बेला आएको बताए। सभापति देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले त्यो कुरालाई सबैले बुझेर अघि बढनुपर्ने बताए।

उनले भने,  ‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले। डराउँदैन पनि। कतिपय उचित आलोचनाहरु हुन्छन्। त्यसले आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरु गर्न झन उत्साह हुन्छ। केही समस्या भए करेक्शन पनि हुन्छ। त्यसकारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ आलोचनाले। अहिले बडा चुनौती आएको छ देशमा। राष्ट्रमा लामो लडाइँपछि आएको प्रजातन्त्र हो। यसको खिलापमा पनि एकथरी लागेका छन्। त्यसकारणले यस्तो हुनुलाई अन्यथा लिनु हुँदैन। त्यसकारण हामी सबैले एकजुट भएर प्रजातन्त्रको सुदृढीकरण गर्ने काममा, केही कमी छन भने सुधार्दै अगाडि बढ्नुपर्दछ।’

त्यस अवसरमा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा योगदान पुर्‍याएको भन्दै नेपाल प्रेस युनियनको पनि प्रशंसा गरे। कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यक्त औंल्याउँदै त्यसमा साथ दिन सबै सञ्चार संवद्ध संघ, संगठनहरुलाई आह्वान गरे।

उनले ठूलो लगानीका सञ्चार गृहहरुले समेत श्रमजीवि पत्रकारहरुलाई अन्य विकल्प खोज्न दबाब दिएको उल्लेख गर्दै त्यसको बिरुद्ध डटेर मुकाविला गर्नुपर्ने बताए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation