नागरिकता विधेयक प्रमाणीकरण : सरकार र राष्ट्रपतिलाई एमालेका ५ प्रश्न

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणकै दिन नागरिकता विधेयक प्रमाणीकरण गर्नुको कारण माग गरेको छ। महासचिव शंकर पोखरेलले सामाजिक संजालमा लेख्दै ‘सरकार र राष्ट्रपतिलाई के बाध्यता आइलाग्यो?’ भनेर प्रश्न गरेका छन्।

मन्त्रिपरिषद्को गत जेठ १२ गतेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपाल नागरिकता ऐन संशोधन गर्ने विधेयक प्रमाणीकरण गरेका थिए।

अघिल्लो संसदका दुवै सदनबाट दुई पटक पारित विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेकी थिइन्।

‘निष्कृय बनेको नागिकता विधेयकलाई भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणिकरण गर्नुपर्ने सरकारको बाध्यता के आइलाग्यो? नागरिकता सम्वन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिक्टलाई उपेक्षा गर्न मिल्छ?’ महासचिव पोखरेलको प्रश्न छ, ‘सम्माननीय पूर्व राष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरुको उत्तर दिने कर्तव्यवाट सरकार र संसद भाग्न मिल्छ? प्रादेशिक पहिचान सहितको नागरिकताको सम्वैघानिक प्रवन्घको ठाडो उलंघन गर्न मिल्छ?’

उनले नयाँ जनादेशको उपेक्षा गरेर निष्कृय विधेकलाई कसरी प्रमाणिकरण गर्न मिल्छ? भनेर पनि प्रश्न गरेका छन्। ‘संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो ? उत्तर दिनु पर्दैन र ?’ पोखरेलको प्रश्न छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation