देशका धेरैजसाे ठाउँमा अझै केही दिन अधिकतम तापक्रम रहन्छ : माैसमविद्

काठमाण्डाै । देशका धेरैजसाे ठाउँमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्ले बताएका छन् । केही दिनयता तातो हावा तथा ‘लु’ देशका धेरैजसाे ठाउँमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्ले यस्ताे बताएका हुन् ।

कार्यक्रममा मौसमविद् शान्ति कँडेलले यस वर्ष देशका धेरैजसाे भू–भागमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताउनुभयो । उहाँले न्यूनतम तापक्रम पनि सरदरभन्दा धेरै बढी हुने देखिएको बताउनुभयो । नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन ‘हिट वेभ’ बढ्ने माैसमविद् कँडेलकाे भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले गर्मीबाट बच्नका लागि परोपकारी संस्थाहरूले ठाउँ–ठाउँमा माटोको भाँडाहरूमा पानी राखेर खुवाउने, सातु खुवाउने, कागती पानी खुवाउने र मोही खुवाउने कामलाई अघि बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले यसमा सरकार र प्राधिकरणले पनि सहयोग गर्ने बताउनुभयो । यस्तो स्थितिमा परोपकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहने उहाँ बताउनुहुन्छ ।

त्यस्तै कार्यक्रममा अन्य मौसमसम्बन्धी विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिले पूर्वसूचना प्रणाली कमजोर रहेको बताए । गर्मीका कारण ‘लु’ लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्न सक्ने उनीहरूले बताए ।

तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो ठाउँमा रहन, हलुका लुगा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह, सुझाव लिनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation