बजेट ‘गेम चेन्ज’मा होइन आयोजनाको ‘नेम चेन्ज’मा उद्यत भयो : पौडेल

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको बजेट चालु आयोजनाहरूको कार्यक्रम र नाम परिवर्तनमा लागेको टिप्पणी गरेका छन् । विभिन्न आयोजनाहरू पूरा गर्नका लागि बजेट विनियोजन गर्ने तथा स्रोत सुनिश्चित गर्नतिर बजेट अग्रसर हुनुपर्नेमा नाम परिवर्तनमा लागेको उनको भनाइ थियो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद पौडेलले यसअघिको सरकारले ल्याएका आयोजनाहरूलाई बेवास्ता गरिएको बताएका हुन् ।

‘भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्य, रोजगारीजस्ता मानवीय विकासका कार्यक्रम तथा योजनाहरूमा गरिएका विनियोजन अत्यन्त न्यून र असन्तुलित छ । विगतमा प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रम, तराईका जिल्ला सदरमुकामहरूको सहरीकरणसम्बन्धी कार्यक्रम, औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रमलगायत कैयौं कार्यक्रम र आयोजनाहरूलाई या त हटाइएको छ या तिनको क्षमता कटौती गरिएको छ,’ उनले भने, ‘यसरी बजेट गेम चेन्जमा होइन, कार्यक्रम र आयोजनाहरूको नेम चेन्ज गर्ने कुराहरूमा उद्यत भएर लागेको छ ।’

सरकारले स्वास्थ्य, शिक्षा, खानेपानी र सरसफाइका क्षेत्रमा बजेट घटाइएको र त्यसले आम नेपालीको जीवनस्तर र मानव विकास सूचकांकमा गम्भीर नकारात्मक असर पार्ने पौडेलको भनाइ छ । बजेटमा कुनै पनि नयाँपन नरहेको पनि उनले भने । ‘जे छ विगतकै कार्यक्रमहरूको निरन्तरता छ । थप केही छ भने नाराको भीड छ । तर ती नारालाई कार्यान्वयन गर्ने विनियोजन छैन,’ उनले भने ।

केही महत्वपूर्ण सडक, आधारभूत अस्पताल, बाँकी रहेको भूकम्पपछिको पुनर्निर्माण, विद्यालय भवन, औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम, हरेक प्रदेशमा निर्माण गरिने सरकारी स्वामित्वका मेडिकल कलेज आदिका लागि न्यून बजेट विनियोजन गरिएको पनि उनले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation