दलित युवा युवतीका लागी ५ दिने उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सुरु

दिपिका सुनार, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका ८ मा दलित युवा युवतीका लागी ५ दिने उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । उक्त तालिम उत्पीडित नागरिक उत्थान केन्द्र कपिलवस्तुको आयोजना र बाणगंगा नगरपालिका ८ को आर्थिक सहयोगमा सुरु भएको हो ।

तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाको उपमेयर रिता कुमारी चौधरीले बा्ेल्ने सिप आफैमा एउटा कला भएकाले यसको मद्दतले व्यक्तित्व विकास हुने बताईन् । उपमेयर चौधरीले नगरपालिकाले सबै वर्गलाई समान रुपले हरेको दाबी गर्दै सोही अनुरुप कार्यक्रमहरु तर्जुमा गरिरहेको बताईन् । आगामी आर्थिक बर्षमा पिछडिएका जातजातीहरुको क्षमता अभिवृद्धिका लागी ठोस योजनासहित अगाडि बढ्ने उनले प्रतिवद्धता जनाईन् ।

बाणगंगा नगर कार्यपालिका सदस्य सारदा परियारले आफ्नो समयमा पढ्न लेख्न नपाएको गुनासो गर्दै कुटो, कोदालोमै सिमित हुन परेको सुनाईन् । उनले तालिम लिइसके पश्चात शिक्षामा प्रभाव पर्ने, बोल्ने बानीको विकास हुने, व्यावहारमा परिवर्तन आउने विश्वास व्यक्त गरिन् । अहिलेको अवस्थामा पि.एच. डि गरेका युवा युवती पनि कुनै कार्यक्रममा अगाडी गएर आफ्नो भनाई राख्न नसक्ने भएकाले यस्तो तालिम दिन आवश्क भएको बताइन् । उनले दलित युवा युवतीलाई ३ महिने कम्प्यूटर सिक्ने अवसर दिएको भन्दै अनुशासित ढङ्गले सिक्न आग्रह गरिन् ।

उक्त कार्यक्रममा बोल्दै उत्पीडित नागरिक उत्थान केन्द्र कपिलवस्तुका अध्यक्ष प्रेम विकले तालिम लिए पछि आफूले सिकेका सिपलाई दैनिक व्यावहारमा पनि लागू गर्न आग्रह गरे । वडा सदस्य सैलेन्द्र बेल्बासेले तालिम पश्चात कुनै पनि कार्यक्रममा बोलेर आफ्ना समस्याहरु राख्न सक्ने हुनेमा आफु विश्वस्त रहेको बताए ।

३५ जना युवा युवती सहभागी भएको उक्त तालिममा पत्रकार पूर्ण चन्द्र परियार र पशुपति गिरीले प्रशिक्षणको भूमिका निर्वाह गरेका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation