ह्यान्ड पाइप प्रहार गरी रुपन्देहीमा एक युवकको हत्या

बुटवल  । ह्यान्ड पाइप प्रहार गरी रुपन्देहीमा एक युवकको हत्या भएको छ । नवलपरासी पश्चिमको सुनवल नगरपालिका ७ का १८ वर्षीय सुमन कुँवरको तिलोत्तमा नगरपालिका १७ पूर्व बहियामा हत्या भएको हो । जेठ ३० गते हत्या भएका कुँवरको शव प्रहरीले जेठ ३२ मा फेला पारेको थियो ।

हत्या अभियोगमा तिलोत्तमा नगरपालिका १६ का २३ वर्षीय ज्ञानबहादुर कुँवरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । प्रहरीका अनुसार जेठ ३० गते राति देवनाथ कुँवरको घरमा आपसी झगडामा ह्यान्ड पाइपको वासर सहितको फलामको डन्डीले टाउकोमा हानेर मारेका थिए ।

मृत्युपछि उक्त शवलाई कोठाभित्र रहेको खाटमुनि तन्ना र कपडाले ढाकेर राखिदिएका थिए । बेवारिसे शव फेला परेको सूचना आएपछि प्रहरीले घटना अनुसन्धान गरी शव फेला पारेको थियो । अभियुक्तलाई कर्तव्य ज्यान कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation