मध्य र पश्चिम तराईमा चर्को घाम र तातो हावा , अर्को हप्तादेखि पानी पर्ने सम्भावना

काठमाण्डौ । गएको बुधवार नेपाल भित्रिएको मनसुन देशभर फैलन ढिलाइ भएको छ । मनसुन देशभर फैलन ढिलाइ भएसँगै मध्य र पश्चिम तराईमा बढेको गर्मी अझै केही दिन कायमै रहने भएको छ।

तराई मधेस क्षेत्रमा अझै दुईरतीन दिन वर्षा गराउने प्रणाली सक्रिय हुने सम्भावना कम भएकाले गर्मी कायमै रहने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् बिनोद पोखरेलले जानकारी दिनुभयो । मध्य र पश्चिम तराईका नागरिक चर्को घाम र तातो हावाका कारण हैरान भएका छन् ।

आउँदो मङ्गलवारदेखि पूर्वी र मध्य क्षेत्रमा मनसुन सक्रिय हुने र आउँदो हप्तादेखि भने नेपालभर नै मनसुन सक्रिय भएर पानी पर्ने पोखरेलले बताउनुभयो । यस्तै, भारतका विभिन्न क्षेत्रमा प्रभाव पारिरहेको बिपरजोय आँधीका कारण आउँदो सोमवार पश्चिम नेपालमा वर्षाको सम्भावना रहने भए पनि ठूलो पानी पर्ने सम्भावना नरहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो ।

बिपरजोयको प्रभावले हुने वर्षाका कारण तराई मधेसको तापक्रम केही घट्ने तर शीतल दिनको लागि केही दिन पर्खनै पर्ने उहाँले बताउनुभयो । अहिले ताप्लेजुङ, कास्की, म्याग्दी, जाजरकोट, डोटी लगायतका जिल्लामा सामान्य पानी परिरहेको भए पनि धेरैजसो ठाउँमा घाम लागेको छ ।

अहिले मधेस प्रदेशका सबैजसो जिल्लाको तापक्रम ३२ डिग्री सेल्सियसभन्दा माथि छ भने चितवनभन्दा पश्चिमतर्फ रहेका तराई मधेस जिल्लाहरुको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation