कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आराेपमा दाङमा ८ जना पक्राउ

दाङ ।  कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आरोपमा दाङमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका-५ सिमल खुटीका ज्ञानबहादुर विक, जोगिनी विक, नागरिकता लिने नाति विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरु सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेका छन् ।

ज्ञान बहादुरले आफ्नो छोरीको छोरा विवेकलाई आफ्नै छोरा भनी कीर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका  प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।

उनले गएकाे वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी बसालेर नातिलाई छोरा बनाइ जन्म दर्ता बनाएको प्रहरीको भनाइ छ ।

जन्मदर्ताको आधारमा विश्वकर्मालाई वडाले नागरिकताको लागि सिफारिस समेत दिएको बताइएको छ । त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय लमहीबाट सिफारिसका आधारमा विवेकले नागरिकता प्राप्त गरेको खुलेको छ ।

डीएसपी गौतमका अनुसार राजपुर गाउँपालिका टंक बहादुर विष्ट र वडा सचिव फरार रहेका छन् । पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation