माण्डवी गाउँपालिकाले गर्यो आगामी आर्थिक वर्ष २०८०/०८१को नीति कार्यक्रम प्रस्तुत

प्युठान । प्युठानको माण्डवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१का लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।आज देखि गाउँपालिकाको सभाहल जस्पुर मा सुरु भएको गाउँसभाको १४अौँ वजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष नमराज अधिकारीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो।

गाउँपालिकाले आर्थिक,सामाजिक ,स्वास्थ्य ,शिक्षा,महिला ,बालबालिका तथा जेष्ठ नागरिक,अपाङ्ग ,खानेपानी तथा सरसफाइ ,युवा तथा खेलकुद,सामाजिक सुरक्षा तथा संरक्षण ,संस्कृति तथा प्रवर्द्धन ,बसाइँसराइ ,पुर्वाधार ,सुशासन तथा संस्थागत विकास सहित भौतिक पुर्वाधार अन्तर्गतका गुरु योजना लगाएतका क्षेत्रमा केही नयाँ कार्यक्रम कार्यान्वयन गर्ने र केही पुराना कार्यक्रमलाई निरन्तर दिने गरि नीति कार्यक्रम सार्वजनिक गरेको छ।गाउँपालिकाले वडा नं.-१ तिरामलाई अमिलो जातका फलफुल ,वडा नं.-२ मर्काबाङलाई स्मार्ट कृषि कार्यक्रमलाई विस्तार गरि जिल्ला कै नमुना कृषि क्षेत्रको रुपमा विकास गर्ने,वडा नं.-३ लाई तरकारी तथा खाद्यान्न तथा च्याउ पकेट,वडा नं.-४ लाई मसलाबाली र वडा नं.-५ लाई बाख्रा पकेट क्षेत्रको रुपमा विकास गर्ने नीति लिएको छ।यस्तै उत्पादनमा आधारित अनुदान वितरण गर्न उत्पादन साथमा अनुदान हातमा कार्यक्रमको कार्यविधि निर्माण गरि मासिक अनुदानको व्यवस्था मिलाउने भएको छ।साथै मासिक १६० लिटर दूध उत्पादन गर्ने कृषकलाई कार्यविधि मार्फत मासिक अनुदान उपलब्ध गराउने तयारी गरिएको छ।

यस्तै पशु विमा,चिस्यान केन्द्रको व्यवस्थापन ,वजारीकरणको ग्यारेन्टी ,ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्र उदयपुरकोट दरबार,ठुलिलेखमा पर्यटन प्रवर्द्धन,माडी खोलामा र्याप्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम नितिमा समेटिएको छ।गाउँपालिकाले बाँझो जग्गाको उपयोग गर्न कतार देखि कोरिया होईन आफ्नै बारीका पाटा र खोरिया भन्ने नाराका साथ युवाहरुलाई परिचालन गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष अधिकारीले बताउनु भयो।तीन वर्ष सम्म कारोवार नगरेका संस्थानलाई खारेज,चकचके बजार केन्द्रमा हाटबजार,अनाधिकृत मदिरा बिक्री वितरणमा निषेध गरिने नीति कार्यक्रममा उल्लेख छ।

प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिदै सामुदायिक विद्यालयमा स्मार्ट वोर्ड,ल्यावटप प्रोजेक्टरको प्रयोगमा बढवा दिईने,आधारभुत तह शिक्षा निशुल्क र अनिवार्य कार्यान्वयन,सामुदायिक विद्यालयमा गुणस्तर सुदृढीकरण तथा कार्यसम्पादन मा आधारित प्रोत्साहन अनुदान उपलब्ध गराउने पनि गाउँपालिकाको आगामी योजना छ।स्वास्थ्य क्षेत्र अन्तर्गत निशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता ,सेवा प्रवाहमा सुधार,१५ शैया अस्पताल ,२४ घण्टे प्रसुती सेवा,पुर्ण खोप सुनिश्चितता लगाएतका योजना तथा कार्यक्रम प्राथमिकतामा परेका छन्।

महिलालाई उद्यमशीलता र उद्यम सञ्चालनका लागि अनुदान ,खानेपानीका मुहान संरक्षण,सामाजिक सुरक्षा,संस्कृति तथा पर्यटन प्रवर्द्धन ,उत्पादन र वजारीकरण,हरित पार्क,फोहोर मैला व्यवस्थापन , सुशासन तथा संसथागत विकासलाई समेत मजवुत बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।उता गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले विगत देखिनै नीति कार्यक्रम असाध्यै राम्रा आए पनि बजेट सँग तालमेल नमिल्दा समस्या सिर्जना हुने गरेकोे उल्लेख गर्दै यस आर्थिक वर्षको नीति कार्यक्रमको परिधि भित्र रहेर मात्र बजेट तर्जुमा गर्ने प्रतिवद्धता जनाउनु भयो।

सभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको उपाध्यक्ष कालाथोकीले बताउनु भएको छ।सभामा गाउँपालिका अध्यक्ष अधिकारी ,उपाध्यक्ष कालाथोकी,सहित सम्पुर्ण जनप्रतिनिधि र रास्ट्रसेवक कर्मचारीहरको उपस्थिति रहेको थियो। पारित भएको नीति कार्यक्रम अनुरुप आगामी असार १० गतेको अधिवेशनमा बजेट प्रस्तुत हुने कार्यसुची रहेको गाउँपालिकाले जनाएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation