‘आदिपुरुष’ देशभर बन्द, हलवाला कानुनी बाटोमा

काठमाडौँ ।  शान्ति सुरक्षाको कारण देखाउँदै काठमाडौं मात्रै नभइ देशभर ‘आदिपुरुष’को प्रदर्शन स्थगन गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारदेखि नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्रदर्शन रोक्ने तयारी गरेसँगै देशभर फिल्मको प्रदर्शन स्थगन भएको फिल्मका वितरक मनोज राठीले बताए ।

‘बिहानसम्म काठमाडौं र पोखरामा फिल्मको प्रदर्शन रद्द भएको थियो । त्यसपछि धरान, इटहरी, जनकपुर, धनगढी, चितवन हुँदै सबैतिर फिल्मको प्रदर्शन स्थगन हुने क्रम जारी छ । अब देशभर नै फिल्मको प्रदर्शन बन्द भयो,’ राठीले भने । राठी ‘आदिपुरुष’का नेपाल वितरक श्री व्यंकटेश इन्टरटेन्टमेन्टमा आबद्ध छन् ।

पोखरामा पनि भारतीय फिल्म प्रदर्शनमा रोक

फिल्मको विवादले आफूहरु सय प्रतिशत घाटामा परेको राठीको दाबी छ । ‘फिल्मले सुरुदेखि नै त्रास व्यहोर्नु पर्‍यो । हलवालाले चलाउ/नचलाउको भावमा शुक्रबार फिल्मको प्रदर्शन गरे । अब त हामी पूरै घाटा गयौं,’ राठीले भने, ‘अब हलवालाले नै फिल्मको प्रदर्शन बन्द गरेपछि हामीले गर्न केही सक्दैनौं ।’

काठमाडौंमा रोकियो ‘आदिपुरुष’

हलहरुको छाता संगठन चलचित्र संघले भने कानुनी बाटो अपनाउने तयारी थालेको छ । ‘सेन्सर भइसकेको फिल्मलाई यसरी रोक्ने काम कसको कार्यक्षेत्रमा पर्छ भन्ने कुरा नै बुझिएन । संघीय सरकारले अनुमति दिइसकेको फिल्म अब हामीले प्रदर्शन गर्न पाउँछौं कि पाउँदैनौं ? अब हामी सबैसँग अनुमति लिँदै बस्ने हो कि ? अब छिनोफानो गरिदिनु पर्‍यो भनेर हामी कानुनी बाटोमा जाने सोच्दैछौं,’ संघका उपाध्यक्ष भाष्कर ढुंगानाले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation