शितगंगा १४ मा रहेको सुर्य गुफाको संरक्षणको लागि ३० लाख बजेट विनियोजन

कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १४ मा रहेको सुर्य गुफाको संरक्षण र भौतिक पुर्वाधार निर्माणको लागि ३० लाख बजेट विनियोजन भएको छ । अर्घाखाँचीका प्रदेश सांसद रामजी प्रसाद घिमिरेको पहलमा २० लाख र कपिलवस्तुका प्रदेश सांसद विष्णु पन्थिको पहलमा १० लाख गरि प्रदेश सरकार र पर्यटन मन्त्रालय बाट जम्मा ३० लाख बजेट विनियोजन भएको हो ।

भगवान गौतम बुद्धले शान्तिको सन्देश दिनुभएको उक्त गुफा अर्घाखाँची र कपिलवस्तुको सिमानामा पर्दछ । स्थानीयले सूर्य ओढारका रूपले चिन्ने गरे पनि यसको महत्त्व बुद्धसँग जोडिन पुगेको छ । केहि समय पहिला थाइल्याण्ड बाट आएका ५० भक्तजनहरुले उक्त गुफामा देशना गरेको समाचार बाहिर आएपछि अब भने यस स्थानले संरक्षण पाउने स्थानिय चुमा गाहाले बताउनु भएको छ ।

बुद्धसँग सम्बधित रहेर यसको खोज र अनुसन्धानमा लागेका विभिन्न व्यक्तिहरुले शाक्यमुनी गौतम बुद्धले ज्येष्ठ पूर्णिमाको राति यहाँ देशना गरेको बताउने गर्दछन । महासमय सूत्र बुद्धकालीन समयमा सुनाउने सूत्र हो । बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र कपिलवस्तु भूमिमा देवतादेखि दानवसम्मलाई महासमय सूत्र सुनाउने गर्थे । त्यो सुनाउने स्थान कपिलवस्तु महावन हो । यो महावनलाई व्याख्या गरिएअनुसार पर्वत शृंखला नजिकै, एक नदी र गुफा क्षेत्र रहेको बौद्धग्रन्थमा उल्लेख रहेको उनीहरुले बताउने गर्दछन ।

उनीहरुका अनुसार त्रिपिटकमा गरिएको ब्याख्याअनुसार कपिलवस्तु महावनमा बुद्धले देशना गरेको र जहाँ युगान्दर पर्वत, भागीरथि नदी र एक गुफा रहेको भन्ने छ । यो स्थान कपिलवस्तुका अन्य कुनै स्थानमा नभएकाले ब्याख्या गरिएअनुसार सबै कुरा यहाँ मिलेको धेरैको दाबी रहेको छ ।
सूर्य ओढार पहाड नजिकै छ । यसको नजिकै भागीरथि नदी (बाणगङ्गा) बग्छ भने एक गुफा यसलाई सूर्य ओढारका नामले चिनिन्छ । बौद्धग्रन्थमा उल्लेख भएअनुसार यस ठाउँको खोज र अनुसन्धानमा विद्वानहरू लागिपरेका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation