
काठमाडौँ । पाल्पाका विभिन्न स्थानमा गाईगोरुमा फैलिएको ‘लम्पी स्किन डिजिज’ (छालामा हुने गिर्खे रोग) बाट १ सय १० पशु चौपायाको मृत्यु भएको छ । ४ हजार बढी प्रभावित भएका छन् । २ हजार बढीलाई उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
आकाशे वर्षा भएसँगै धान रोपाइँको चटारो हुने पाल्पाको माडी फाँट, झडेवा क्षेत्रमा यतिबेला लम्पी स्किन डिजिजले प्रभावित पारेको छ । लम्पी रोगले रोपाइँमा प्रयोग हुने हल गोरु नै बिरामी हुने, मर्ने भएपछि माडी फाँट क्षेत्रको रोपाइँमा प्रत्यक्ष प्रभाव परेको किसानले बताए ।
बगनासकाली, माथागढी, निस्दी र रिब्दीकोट गाउँपालिकामा गोरु बढी मर्ने र २ हजार बढी पशु प्रभावित भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । रैनादेवी छहरा, तिनाउ गाउँपालिकाका साथै तानसेन नगरपालिकाका केही वडामा पनि २ हजार बढी पशुमा लम्पी रोग लागेको विज्ञ केन्द्रका सूचना अधिकारी डा. नवीन बस्यालले बताए ।
पूर्वखोला, रम्भा गाउँपालिकाका साथै रामपुर नगरपालिकाका पशुमा पनि छिटपुट यो रोग लागे पनि नियन्त्रणमा आएको छ । भौगोलिक कठिनाइका कारण टेक्टर, हाते टेक्टर प्रयोग नगर्ने ठाउाका किसान यतिबेला गोरु बिरामी र मर्ने समस्याले रोपाइँ गर्ने अन्योलमा परेको पोखराथोकका किसान खुमबहादुर कुमालले बताए । ‘एक हल गोरु किन्न कम्तीमाा ४० हजार लाग्छ,’ उनले भने, ‘किसानले कहाँबाट रकम जुटाउने हो भन्नेमा चिन्तित भएको अवस्था छ ।’
जेठ अन्तिम साता रोपिसक्ने खेत समयमा पानी नपर्दा सागै जोत्नका लागि प्रयोग हुने गोरु बिरामी परेर अहिलेसम्म रोप्न पाएका छैनन् । माडीफाँट वरपरका गाउँमा पशुपालन हुन्छ भने घरघरै हलगोरु पालेका छन् । संक्रमण फैलिए पनि रोगको कुनै खोप छैन । संक्रमण फैलिएको गाई, गोरुका शरीरका विभिन्न भागमा गिर्खा आउने, उच्च ज्वरो आउने, पाक्ने, सुन्निनेजस्ता लक्षण देखिएको पशु सेवा प्राविधिक युवराज ज्ञवालीले बताए ।
यो रोग निको पार्ने कुनै खोप नभपछि पशुको लक्षण अनुसार सामान्य एन्टिबायोटिक दिने काम भएको पशु प्राविधिक विष्णु ओलीले बताइन् । गाईगोरुमा लम्पी स्किन रोग देखापरेपछि किसान खुमबहादुर कुमाल चिन्तित छन् । झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्रबाट फैलिएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ ।