गठबन्धन पाँच वर्ष केही हुनेवाला छैन : प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन पाँच वर्ष केही पनि नहुने बताएका छन्। धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवनको सोमबार आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनको आयुबारे मिडियामा हुने चर्चाको कुनै तुक नभएको बताए।

‘अहिले कता–कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ।’ प्रचण्डले भने,   ‘पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ।’

१८ औं शताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ नसोचि तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै प्रचण्डले थपे, ‘दुनियाँले के भन्छ त्यतातिर भन्दा पनि राम्रो गर्दै जाने तिर मेरो ध्यान केन्द्रित रहेको छ।’

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले विरोध गरेको प्रधानमन्त्रीको भनाई थियो।

आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै उनले जनताका पक्षमा गरेका कामको जनताले नै फैसला गर्ने विश्वास समेत व्यक्त गरे।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation