शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लुम्बिनी । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा नम्बर ७ का वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मरासिनी र वडाध्यक्ष यादवलाई ५० हजार रुपैयाँ बिगो कायम, त्यति नै जरिवाना र कैद सजायको माग गरिएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सो घटनामा संलग्न बिचौलिया बिनोद भरलाई पनि मुख्य कसुरदारसरह नै सजाय हुन मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

यसअघि उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा मरासिनी, वडाध्यक्ष यादव र बिचौलिया भरलाई बुटवलस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation