प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित, पक्षमा १ सय ४७, विपक्षमा १ सय ८ मत

काठमाण्डाै । आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको आज बुधवारको बैठकमा उपस्थित भएका दुई सय ५५ जना सांसदमध्ये एक सय ४७ मतसहित बजेट पारित भएको हो । बजेटको विपक्षमा एक सय आठ मत परेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको हो । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०/८१ बजेट अर्थात् विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएकोमा त्यसलाई सभामुख देवराज घिमिरले ध्वनिमतबाट पारित भएको घोषणा गर्नुभएको थियो ।

सभामुख घिमिरले हुन्छ वा हुन्न भन्ने ध्वनि मतका आधार घोषणा गर्नुभएकोमा एमालेका सांसद महेशकुमार बर्तौलाले नियमापत्ति गर्नुभयो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले मत विभाजन गर्नुपर्ने माग गरेपछि मत विभाजन गरिएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation