सरकारमा सहभागी हुन सिके राउतलाई प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष राउतले प्रचण्डसँग भेट गरेका हुन्।

भेटमा राउतले सरकारसँग विमतl रहेकाले बाहिरिन चाहेको बताएका थिए। तर, प्रधानमन्त्री प्रचण्डले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोजेको मन्त्रालय दिन आफू तयार भएको बताएको उनको सचिवालय स्रोतले जनाएको छ।

‘बिहान आउनुभएको थियो। प्रधानमन्त्रीज्यूले सरकारमा सहभागी हुन र माग सम्बोधन गर्ने आश्वासन दिनुभयो। आज प्रधानमन्त्रीज्यू व्यस्त भएकाले टुंगोमा पुग्न सकिएन,’ सचिवालयका एक सदस्यले  भने।

प्रधानमन्त्रीले रोजेकै मन्त्रालय दिने हो भने तत्काल सम्भावना छैन। किनकि उद्योग मन्त्रालय नेपाली कांग्रेसको भागमा छ।

जनमत पार्टीले आफूहरूले रोजेको भौतिक पूर्वाधार मन्त्रालय नपाएपछि आफ्ना एक मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो। गत पुस ११ गते शपथ लिएका जनमत पार्टीका मन्त्री अब्दुल खानले माघ ३ गते मात्रै खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

त्यसअघि उनले उद्योग मन्त्रालय पाउनुपर्ने अडान लिएका थिए। तर, प्रधानमन्त्री प्रचण्डले मन्त्रालय फेरबदल नगरेपछि मन्त्री खानले चैत १७ गते राजीनामा दिएका थिए। जनमत पार्टीका मन्त्री खानले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो । तर आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएपछि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा भइरहेको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation