बाँकेकोमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ

बाँके । बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र ६ किलो ८ सय १८ ग्राम हड्डीसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् ।

डिभिजन कार्यालय बाकेका वन अधिकृत अजितकुमार कर्णका अनुसार छाला र हड्डी वयस्क पोथी बाघको हो । छालाको लम्बाइ ९ फिट ८ इन्च रहेको छ । घाँटीमा दुई ठाउँमा गोलीको प्वाल फेला परेको छ । बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।

पक्राउ परेका चारै जनाबारे डिभिजन वन कार्यालयले थप अनुसन्धान गरिरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार पक्राउ परेका चारै जना दोषी भएको पुष्टि भएमा पाँचदेखि १५ वर्षसम्मको कैद वा पाँच लाखदेखि १० लाखसम्मको जरिवाना अथवा दुवै सजाय हुनसक्ने प्रावधान छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation