
कपिलवस्तु । कपिलवस्तु जिल्लाको एक मात्र क्यु.ए.ए. सर्टिफाइड क्याम्पस सिद्धार्थ क्याम्पस बुङ्चिमा अब कक्षा ११ को पढाई दुई सिफ्टमा हुने भएका छ । लामो समयदेखिको विद्यार्थीहरुको आवस्यकता र चाहानालाइ मध्यनजर गर्दै अब बिहानी र दिवा दुबै सिफ्टमा कक्षा सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख बेदुराम अर्यालले जानकारी दिनुभएको छ ।
वि. सं २०४८ सालदेखि संचलालित जिल्लामै धरै विद्यार्थी रहेको क्याम्पसमा बिहानीका कक्षा सञ्चालनको माग धेरै लामो समयदेखि भएपनि यस वर्ष देखि कक्षा ११ को र अर्को वर्ष देखि कक्षा १२ को पढाई बिहानी र दिवा दुबै सिफ्टमा गर्न लागिएको प्रमुख अर्यालले उपकार अनलाइन सङ्ग बताउनु भएको छ । एसईईको नतिजा आएसंगै शिक्षा, मानविकी र व्यवस्थापन शंकायमा कक्षा ११ मा भर्ना खुलेको र यही साउन २ गतेदेखि कक्षा सञ्चालन हुनेपनि उहाँले बताउनु भएको छ ।
सिद्धार्थ क्याम्पसको कक्षा ११ मा अहिले ११५ र कक्षा १२ मा १३० गरी प्लस टु तर्फ २४५ विद्यार्थी अध्ययनरत रहेका छन । कपिलवस्तुको बाणगङ्गामा अर्घाखाँची, गुल्मि, पाल्पा, प्युठान लगायत विभिन्न पहाडी छिमेकी जिल्लाका विद्यार्थी उच्च शिक्षाको लागि आउने र प्रायः सबैले दिउँसोमा काम गर्दै पढ्ने भएकाले पनि धेरै विद्यार्थीले बिहानीका कक्षाको माग गरिरहेका थिए । अब दुबै सिफ्टमा पढाई हुनेभएपछि क्याम्पसमा विद्यार्थीको संख्या पनि उल्लेख्य रुपमा बढ्ने आशा गरिएको छ ।