सीताको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालसहित दुई छोरीले दिए दागबत्ती

काठमाडौँ । दिवंगत सीता दाहालको हिन्दु परम्परा अनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे पार्थिव शरीरमा दागबत्ती दिएका छन् ।

प्रधानमन्त्री दाहालसँगै रेणु र गंगा पनि चिता वरपर घुमेका थिए । दिवंगत दाहाललाई माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।

श्रद्धाञ्जली अर्पण गर्नका लागि दाहालका आफन्तहरूसहित माओवादीका शीर्ष नेता तथा कार्यकर्ताहरू मंगलबार दिउँसो पेरिसडाँडामा पुगेका थिए । साथै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाल लगायत नेताहरू सीतालाई श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ पुगेका थिए ।

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएका थिए । साथै सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीताको ६९ वर्षको उमेरमा मंगलबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation