चट्याङले जुम्लामा ५० भेडाबाख्रा मरे, ७० वटा हराए

जुम्ला । बिहीबार दिउँसो पाटनमा चराउन लगेका भेडाबाख्राको बथानमै चट्याङ पर्दा ५० भेडाबाख्रा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिका २ पेर गाउँको पाटनमा चराउन लगेको अवस्थामा बथानमै चट्याङ गरेको थियो । ७० वटा भेडा हराएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।

उनका अनुुसार भेडाबाख्रा पाटनमै चट्याङ लागेर मरेपछि भेडापालक किसानहरु चिन्तित बनेका छन् । सबैभन्दा बढी पातारासी–२ का दीपबहादुर ऐडीका १५ भेडाबाख्रा मरेका हुन् । हिराबहादुर बुढाका वटा ६, कृष्णबहादुर ऐडी ३ वटा, पृथ्वीबहादुर बोहोराका ७ वटा, निमबहादुर बोहोराका १४ वटा र जयबहादुर ऐडीका ५ वटा भेडाबाख्रा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामबहादुर बुढा मगरले बताए ।

पाटनमा चटयाङले मरेका भेडाबाख्रा ल्याउन किसानहरु सबै पाटनतिर लागेका छन् । पछिल्लो समयमा चटयाङ लागेर भेडाका बथानहरु नै सखाप हुन थालेपछि पुर्ख्यौली पेसा नै संकटमा परेको किसानहरुले दुखेसो पोखेका छन् ।

भेडापालन पातारासी गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत बनेको छ । तर बर्सेनि भेडाबाख्रा चट्याङ लागेर मर्ने गरेपछि किसानहरु जीविकोपार्जनमा समस्या परेको बताइरहेका छन् ।

पातारासी गाउँपालिका पशु शाखा प्रमुख गगन केसीका अनुसार बोका २४ वटा भेडा ८ वटा र बाख्रा २८ वटा मरेका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार नेपालको सबैभन्दा बढी भेडापालन हुने ठाउा क्षेत्र नै जुम्लाको पातारासी नै हो । तर पाटन र खर्कहरुमा व्यवस्थित भेडिगोठ नहुँदा हरेक वर्ष कोही न कोही भेडिगोठाला चट्याङका कारण रित्तो बन्ने गरेका छन् । स्थानीय तहले पाटन र खर्कहरुमा व्यवस्थित भेडिगोठ बनाउनु पर्ने स्थानीयको माग छ ।

हिउँदमा भेडाबाख्राहरु घरमा ल्याउने र वर्षायाममा सबै भेडाबाख्राहरु पाटनमा लैजाने गरिँदै आएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation