
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न भएको छ । असार २ गते बाट सुरु भएको नगर सभा १ अरब ६० करोडको बजेट पास गर्दै आज सम्पन्न भएको हो ।
नगर सभामा बोल्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरको समग्र विकासको लागि आगामी वर्षहरुमा अझ सक्रियताको साथ गुणस्तरीय कार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यो एक वर्षमा बजेटले भ्याए सम्म नगर विकासका कार्यमा महत्वपुर्ण योजनालाई अघि सार्दै काम गरेको स्मरण गर्दै आगामी दिनमा त्यसलाई थप जनमुखी बनाउँदै लैजाने बताउनु भएको छ । आगामि आर्थिक वर्षको लागि ल्याएको बजेट, योजना र कार्यक्रम जनताले प्रत्यक्ष लाभ लिने खालका रहेको दाबी गर्दै ति योजनाको कार्यान्वयनमा आफु सङ्गै नगर खटेर लाग्ने बताउनुभएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै उप मेयर रिता कुमारी चौधरीले नगरमा सुशासन कायम गर्न सिगोँ नगर प्रतिबद्ध रहेको बताउनु भएको छ । आगामी वर्षको लागि स्वास्थ्य, शिक्षा कृषि, पूर्वाधार, पिछडावर्ग, महिला, दलित आदिलाई समेट्ने गरी बजेट र कार्यक्रम ल्याएको भन्दै त्यसलाई सफलतापुर्वक कार्यान्वयन गर्नको लागि जनता सगँँै जनप्रतिनिधि, राजनैतिक दल लगायत सबै क्षेत्र निस्वार्थ लाग्नुपर्ने बताउन भएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले नगर बाट प्रवाह हुने सेवा सुविधालाई जनमुखी बनाउँदै लैजाने बताउनु भएको छ । भौतिक विकास गरेर मात्र जनताको जीवन माथि नउठ्ने भएकाले बाणगंगा नगरपालिका भौतिक, सामाजिक, सांस्कृतिक लगायत सर्वाङ्गिण विकास गर्न तर्फ लागिपरेको बताउनु भएको छ ।
नगर सभाले विभिन्न क्षेत्रमा रहेर नगरको विकासमा योगदान पुर्याएका विभिन्न व्याक्तिलाई पुरस्कार सहित सम्मान समेत गरेको छ । रेडियो हर्ट विट ९१.३ मेगाहर्जका स्टेसन म्यानेजर अशोक पौडेल नगरपालिकाको विकास पत्रकारीता पुरस्कार बाट सम्मानित हुनुभएको छ । वैखरी अनलाईनका प्रधान सम्पादक समेत रहनु भएका पौडेललाई नगरको विकासमा पत्रकारीताको माध्यम बाट महत्वपुर्ण योगदान पुर्याएको ठहर गर्दै नगद रु १५ हजार सहित बाणगंगा नगरपालिकाले सम्मान गरेको हो ।
त्यस्तै सम्मानित हुनेहरुमा विकास पत्रकारीता तर्फ नै पत्रकार कुलराज भुसाल रहनुभएको छ । त्यस्तै शान्ती सुरक्षा तथा अमन चयन कायम गर्दै लागु औषद दुर्व्यसनी नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गरेको ठहर गर्दै ईलाका प्रहरी कार्यालयका प्रमुख प्र.नि. कोसिस बाबु जोशी, अस्थायी प्रहरी चौकी गजेहडाका ईन्चार्ज प्र.स.नि. दुर्गेश प्रसाद यादव सम्मानित हुनुभएको छ । त्यस्तै सुशासन तथा सेवा प्रवाहको क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गर्दै नगरपालिकाका कर्मचारीहरुमा आठौँ अधिकृत राजकुमार तिवारी, कम्प्युटर अपरेटर (सहायक पाँचौं) का दिपक थापा, सवारी चालक बुद्ध हमाल, कार्यालय सहयोगी सुभासना पछाई लगायतको कामको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनु भएको छ ।
नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले गत असार ९ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०÷०८१ को बार्षिक नीति, बजेट तथा कार्यक्रम र अनुमानित आय व्यय गरी रु १ अरब ६० करोडको बजेट आज बसेको नगरको १३ औँ नगर सभाले पास गरेको हो ।