तिनाउ खोलामा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका–१ स्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–१५ मदौलीयाका ११ वर्षीय अमन थारुको शनिबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको भैरहवास्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधु नेपालले बताए ।

नेपालका अनुसार अमन अन्य तीन जना साथीहरुसँगै पौडी खेल्न खोलामा गएका थिए । सियारी गाउँपालिका–१ स्थित तिनाउ खोलामा रहेको कौवाघाटदेखि दक्षिणतर्फ खोलाको हिलोमा गडेर डुबेको अवस्थामा अमनको शव दिउँसो २ बजेतिर स्थानीय बासिन्दाले निकालेका हुन् । मृतक अमनको पोष्टमार्टम गर्ने तयारी भइरहेको छ ।

पौडी खेल्ने क्रममा अमन खोलामा डुबेपछि बाहिर ननिस्केको र केही बेरसम्म नदेखिएपछि सँगै आएका अन्य साथीहरुले चिच्याएर कराएका थिए । उनीहरु कराएको सुनेपछि स्थानीयहरूले घटनास्थलमा पुगेर खोजी गर्दा अमनको शव हिलोबाट निकालेका हुन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation