नाकाको कडाइमा व्यवहारिक पक्ष पनि हेरिनेछ : अर्थमन्त्री महत

भैरहवा । अर्थमन्त्री प्रकाशशरण महतले भारतीय बजारबाट १ सय रुपैयाँभन्दा धेरैको सामान किनमेल गरी फर्कने यात्रुलाई भन्सार नाकामा गरिएको कडाइप्रति व्यवहारिक पक्ष हेरिने बताएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा सोमबार भैरहवामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले नियमका बारेमा जानकारी नभएर र कोही पहिलो पटक सीमा पारि गएर सामान्य सामान किनमेल गरी फर्केकाहरूमाथि व्यवहारिक पक्ष हेरिने बताए ।

‘सामान्य र सर्वसाधारणको हकमा व्यवहारिक पक्षलाईपनि हेरिने छ भने नियम विपरीतका अवैध कार्यलाई पनि निरुत्साहित पारिने छ,’ उनले भने ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा संचालनका लागि आवश्यक कुरामा भारतसँग छलफल र अन्य पहल भइरहेको पनि उनले बताए । भैरहवा आर्थिक चलायमान हुने क्षेत्र भएकाले यस क्षेत्रमा संचालित योजनाले निरन्तरता पाउने उनको भनाइ थियो ।

यस्तै विभिन्न योजना तथा निर्माण कार्यको समयमै ठेक्का नलाग्दा पुँजीगत खर्च हुन नसकेकोले कात्तिकभित्रै ठेक्का लगाइसक्नु पर्ने नियम लागू भएपछि पुँजीगत खर्चमा वृद्धि हुने उनले बताएका थिए ।

मूल्य वृद्धिदर केही घटेको र यसबाट अर्थतन्त्रमा केही सकारात्मक संकेत देखा परेको उनले दाबी गरेका थिए ।

यसअघि सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले तीन तहका सरकारबाट व्यवसायीमाथि लगाइएको करमा सहजीकरण गर्न, सीमाबाट हुने गरेको अवैध तस्करी नियन्त्रण गर्न र भारतीय पर्यटकको नेपाल आगमनमा सहजीकरण गर्न माग गरेका थिए ।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी निजी व्यवसायीले भैरहवा क्षेत्रमा ४० अर्बभन्दा धेरैको लगानीको प्रतिफल नकारात्मक अवस्थामा पुगेका बेला बाणिज्य बैंकहरुको धरपकडबाट व्यवसायी प्रताडित बन्न पुगेको बताएका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation