
बुटवल । समूहमा आएर एक व्यक्तिलाई घेरेर चक्कु प्रहार गरी अंगभंग बनाउनेमध्ये तीन जनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवलमा फलफूल व्यवसाय गर्ने अब्दुल कादिर, कृष्ण केसी र लोकबहादुर कुँवर छन् ।
आइतबार पक्राउ परेका तीनै जनालाई शरीर अंगभंग अभियोगमा मुद्दा दायर गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । अन्य युवा भने फरार छन् । उनीहरुले निर्माण व्यवसायी निर्मल खत्रीलाई शुक्रबार दिउँसो कालिकापथमा घेरा हालेर कुटपिट गरी चक्कु प्रकार गरेर फरार भएका थिए ।
इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार निर्माणाधीन बुटवलको कालिका पथ सडकमा कालीगण्डकी निर्माण कम्पनीका सञ्चालक डिबी खत्रीले बिहीबार साँझ सडक पीच गर्नका लागि कालोपत्रे लगाएर राखेका थिए । निर्माण सम्पन्न नहुँदासम्मका लागि सवारी साधन चल्न रोक लगाइएको भएपनि स्थानीय व्यापारी अब्दुल कादरीले फलफूल बोकेको ट्रक चढाएपछि सडक भत्किएको थियो ।
भत्किएको सडकमा निर्माण व्यवसायी खत्रीले कादरीलाई क्षति दिनुपर्ने माग गरेपछि कादरीले शुक्रबार लिन घर बोलाएका थिए । सहमति अनुसार रकम लिन गएका खत्रीका छोरा निर्मल खत्रीलाई कादरीले ३० जना भन्दा बढी युवा बोलाएर कुटपिट गर्दै चक्कु प्रहार गरेका थिए । त्यसक्रममा स्थानीयले सटरमा लुकाएर खत्रीलाई बचाएका थिए । फरार अभियुक्तको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।