
पाल्पा । केही दिनयताको अविरल वर्षासँगै आएको बाढीपहिरोले पाल्पाको तिनाउ गाउँपालिका–१, कचलका विभिन्न स्थानबाट सात घर विस्थापित भएका छन् । बाढी पहिरोको जोखिममा ५० भन्दा बढी घरपरिवार रहेका छन् ।
बाढीपहिरोले कचलमा एक सातादेखि सडक सम्पर्कसमेत विच्छेद भएको छ । वडाध्यक्ष भुवनसिंह चिदीका अनुसार कचलको अनन्ठा गाउँमा डिलबहादुर बगालेको परिवार घरनजिकै खसेको पहिरोबाट विस्थापित भएको छ । पार्वती अर्घाली, भगवती अर्गाली, रामबहादुर अर्गाली, लीलाकुमारी राना, लालबहादुर झाँक्री, मोहन झाँक्री गरी ६ घर जोखिममा रहेका छन् । धन्सार गाउँमा सुस्मा बगालेको परिवार विस्थापित भएको छ । ललिता बगालेको घरपरिवार पनि जोखिममा छन् ।
कचलफाँटको सामुदायिक भवन पनि पहिरोको जोखिममा छ । पाँचचोटेका प्रेमबहादुर बगाले र अमिन कार्कीको घर पहिरोको जोखिममा छ । मुहानटोलका यमबहादुर बगाले, खोर्दीबाङका भीमबहादुर उचैंको घर पनि पहिरोको जोखिममा छ । यहाँ १७ घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष चिदीले जानकारी दिए । पहिरोका कारण घरमा बस्न नसक्ने अवस्थामा विनबहादुर गाहाको परिवार रहेको छ । यहाँ चारैतिरबाट पहिरो खसेको छ ।
कचलकै ओखलढुंगा गाउँमा पनि रामबहादुर उंचै, हेमबहादुर पुन, तिलबहादुर गाहा, थामबहादुर सुनार, खेमबहादुर घर्तीको परिवार पनि पहिरोको जोखिममा छ । कचलको बुढीकोट गाउँका १७ घरपरिवार पहिरोको जोखिममा छ । ढेडामारामा दुई, बेल्टारीमा एक, कचल फाँटमा चार घर परिवार पनि पहिरोको जोखिममा छ । हात्तीमारामा १६ र ठूलीउदाङ गाउँमा तीन घर, कुँडापानीमा सात घर पहिरोको जोखिममा छ । कचलकै कर्नेल कुलोमा पहिरोले क्षति पुगेको छ । यहाँबाट ४ सय रोपनी भन्दा बढी खेतमा सिंचाइ हुनेगर्छ । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बाढी पहिरोले पालिकाले निर्माण गरेका भौतिक संरचना, व्यक्तिगत घर, सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।
‘जनप्रतिनिधि र प्राविधिकसहित क्षतिको मूल्यांकनका लागि स्थलगत अध्ययन गरिसकेका छौं,’ उनले भने, ‘हामीले सक्ने आफैं गर्ने र नसक्ने संरचनाका लागि प्रदेश र संघीय सरकालाई गुहार्ने हो ।’ कचलका विभिन्न स्थानमा मोटरबाटो पहिरोले बगाएको छ । गाउँ जोड्ने सबै सडकमा पहिरोले क्षति गरेको तिनाउ गाउँपालिकाकी कार्यपालिका सदस्य धनीकुमारी बगालेले बताइन् ।
‘धेरै घरपरिवार जोखिममा हुनुहुन्छ भने कतिपय अर्काको घरमा बस्नु परेको छ,’ उनले भनिन्, ‘पानी पर्नासाथ अर्काको घरमा गएर बस्ने र सुत्ने गर्नु परेको अवस्थामा पनि धेरै परिवार हुनुहुन्छ ।’ हिउँदमा डोजर लगाएर राम्रो बनाएका सडक अहिले हेरी नसक्नु गरी पहिरो खसेको उनले बताइन् ।