बौद्ध सांस्कृतिक तथा सम्पदा केन्द्रको निर्माण सुरु

कपिलवस्तु  ।  भारत सरकार मातहत रहेको अन्तर्राष्ट्रिय बौद्ध परिसंघद्वारा लुम्बिनीमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बौद्ध सांस्कृतिक तथा सम्पदा केन्द्रको भूमिपूजा गरी निर्माण शुभारम्भ गरिएको छ ।

फुल्न लागेको कमलको फुलको शैलीमा निर्माण गरिने केन्द्रको नेपाल र भारतका तीन जना प्रतिष्ठित भिक्षुले गैंती र साबेलले खनेर निर्माण प्रारम्भ गरेका हुन् । उक्त अवसरमा भियतनाम, चीन, जापान, कोरिया, थेरबाद र नालन्दा परम्पराअनुसार मंगल पाठ गरिएको थियो । १८ महिनाभित्र एक अर्ब भारुको लागतमा केन्द्रको निर्माण गरिने एससी–गोरखा कन्ट्रक्सन गोरखा जेभीका प्रकाशकुमार श्रेष्ठले बताए ।

जिरो नेट प्रविधिमा वातावरणमैत्री उक्त केन्द्रमा सभाहल, ध्यान केन्द्र, पुस्तकालय र आर्ट ग्यालेरी लगायतका हुने बताइएको छ । कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष तथा कोषाध्यक्ष ढुण्डीराज भटराई, निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, भारतीय दूतावासका प्रथम सचिव करुण बन्सल र अन्तर्राष्ट्रिय बौद्ध परिसंघ (आईबीसी)का महासचिव डा. धम्मपिया लगायतले बोलेका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation