पहिरो नरोकिएपछि भीमदत्त राजमार्ग अझै खुलेन

धनगढी । कैलालीमा अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । गोदावरी नगरपालिका(४ को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर भासिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको हो ।

डिभिजन सडक कार्यालयले पहिरो पन्छाउने काम जारी रहेपनि पहिरो आउने क्रम नरोकिएपछि समस्या भएको जनाएको छ । मंगलबार राति सोही ठाउँमा फेरि पहिरो गएको छ । सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले चारवटा डोजरको प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको बताए । सुवेदीले सडक भासिएकै क्षेत्रमा मंगलबार राति पनि पहिरो गएको बताउँदै बुधबार बिहानैदेखि पुनस् पन्छाउन थालिएको जानकारी दिए ।

उनले बुधबार साँझसम्म एकतर्फी भए पनि सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए । तर वर्षा र पहिरो खस्ने क्रम नरोकिएमा भने केही समस्या हुने बताइएको छ । सोमबार राति गएको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ ।

यसैबीच मंगलबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरो गएको राजमार्गको स्थलगत निरीक्षण गरेका छन् । शाहले निरीक्षण गर्दै पहिरो पन्छाएर राजमार्ग चाँडोभन्दा चाँडो खुलाउन निर्देशन दिएका छन् । त्यसअघि मंगलबार नै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल सहितका जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरूले पनि राजमार्गको निरीक्षण गरेका थिए।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation