
तिलोत्तमा । सवारी दुर्घटनामा परी लुम्बिनी प्रदेशमा तीन वर्षमा १ हजार ५ सय ३६ जनाले ज्यान गुमाएका छन् । ३ हजार ५ जना गम्भीर घाइते भएको र प्रदेशमाका १२ जिल्लामा ३ हजार २ सय ६७ सवारी दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष ०७७/७८ मा १ हजार २ सय ११ सवारी दुर्घटनामा परी ५ सय २३ जनाको मृत्यु भएको थियो । सोही वर्ष १ हजार ८३ गम्भीर घाइते भएका थिए भने ७ सय ४० जना सामान्य घाइते भएका थिए । त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा १ हजार १ सय ६४ सवारी दुर्घटना भएका थिए । जसमा ५ सय ५१ जनाको मृत्यु भएको थियो । १ हजार १ सय २३ जना गम्भीर घाइते भएका छन् भने ५ सय ९७ जना सामान्य घाइते भएका थिए ।
पछिल्लो आर्थिक वर्ष ०७९/८० मा दुई आर्थिक वर्षको भन्दा सवारी दुर्घटनाको संख्या घटेको छ । आर्थिक वर्षमा ८ सय ९२ सवारी दुर्घटना हुँदा ४ सय ६२ जनाको मृत्यु भएको छ । घटनामा ७ सय ९९ जना गम्भीर घाइते र ४ सय ७७ जना सामान्य घाइते भएका छन् ।
पछिल्ला वर्ष सवारी दुर्घटना कम हुनुमा विभिन्न कारणमध्ये प्रहरीको सचेतना र कारबाही पनि एक रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रवक्ता डिएसपी होम थापाले बताए । उनले पछिल्लो समय दैनिक ट्राफिक जनसचेतना कार्यक्रम चलाएकाले दुर्घटनामा कमी ल्याउनुका साथै लापरबाही गर्नेलाई कारबाही गर्न पनि नचुकेको बताए । -कान्तिपुर अनलाइन