
दाङ । दाङमा जंगली च्याउ खाएर बिरामी परेका आमा–छोरीको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ बर्षीया ईश्वरी सुनारको शुक्रबार दिउँसो घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले सेतोपाटीलाई जानकारी दिए।
उनकी ११ बर्षीया छोरी अस्मिताको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारकै क्रममा बुधबार मृत्यु भएको थियो। च्याउ खाएर बिरामी भएका इश्वरीका श्रीमान् अजय सुनारको घोराहीस्थित प्रतिष्ठानमा उपचार जारी छ। सुनार परिवारले साउन २९ गते बेलुकी स्थानीय भित्ताला जंगलबाट जंगली च्याउ घर ल्याइ खाएका थिए।
स्वास्थ्य समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार गराउँदा अवस्था बिग्रदै गएपछि उनीहरुलाई घोराही ल्याइएको थियो । बिरामी मध्य छोरीको अवस्था जटिल बनेपछि थप उपचारका लागि बुटवल रेफर गरिएको थियो। उनको उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो ।
मृतक ईश्वरीका वर्षदिनको एउटा छोरा, आठ वर्षीय र चार वर्षीया दुई छोरी छन्। उनीहरुको अवस्था भने सामान्ने रहेको स्थानीले बताएका छन्।
रोल्पामा तीन जनाको मृत्यु
दुइ हप्ता पहिले मात्रै रोल्पामा जंगली च्याउ खाँदा तीन आमा छोरा छोरीको मृत्यु भएको थियो । जिल्लाको लुङग्री गाउँपालिका– ६ पाटेगुम्चालका २५ वर्षीया फुर्मली बुढाथोकी, सात वर्षीया छोरी सुनिता र तीन वर्षीय छोरा पुस्करको उपचारका क्रममा मृत्यु भएको थियो ।
साउन ८ गते उनीहरूले स्थानीय जंगलबाट ल्याइएको च्याउ खाएका थिए। त्यसपछि गम्भीर बिरामी परेका उनीहरूलाई रोल्पा, दाङ हुँदै बुटवल र भैरहवासम्म उपचारका लागि पुर्याइएको थियो। साउन ११ मा पुस्कर, १२ गते सुनिता १३ गते आमा फुर्मलीको मृत्यु भएको थियो।
पुस्करको प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएपछि साउन १२ गते रोल्पास्थित घरमा ल्याएर दाहसंस्कार गरिएको थियो। पुस्करको अन्तिम संस्कार सक्दा नसक्दै उनकी दिदी सुनिताको पनि मृत्यु भएको थियो। सोमबार मेडिकल कलेज भैरहवामा आमा फुर्मलीको पनि मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ।