
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
त्यस्तै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको बताइएको छ। अहिले देशभर सामान्य तथा पूर्ण बदलीको अवस्था रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।
उनकाअनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।