कोइरालाको आरोप : प्रधानमन्त्रीबाटै देशमा जातीय द्वन्द्व निम्त्याउने प्रयास भइरहेको छ

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । विराटनगरमा शनिबार नेपाल प्रेस युनियन मोरङको पदस्थापना कार्यक्रममा नेता कोइरालाले धार्मीक सद्भाव लडखडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने गरी प्रयास गरेको बताए ।

‘देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउछु भनेर अभिव्यक्ति दिनुहुन्छ। त्यो कत्तिको उचित हो?,’ कोइरालाले अघि भने, ‘जिम्मेवार व्यक्तिबाट यसप्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ, अहिले त्यही हुँदै गइरहेको छ ।’

पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने भन्दै नेता कोइरालाले भने, ‘मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन। संविधानमा लेखिएका कुरा बाहिर कदापी स्वीकार्य हुँदैन। कुनैपनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन ।’

नेता कोइरालाले मुलुकको राजनीति कता मोडिएको भन्दापनि अफ्ठ्यारो परिस्थितिमा गएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको पनि बताए । ‘यहाँ देखिएको सुन तस्करले विश्वलाई केन्द्रित गराएको छ। सुनकाण्डमा भारत र चीन देखिएका छन् । तर अरू मुलुकले समेत चलखेल गर्दै आएकाछन्। सुन तस्करी काण्डमा सरकारले उच्च स्तरीय छानवीन समितिबाट छानविन गर्नुपर्नेछ । सुन काण्डको छिनोफानो जनताले बुझ्ने गरि हुनुपर्छ,’ उनले भने ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation