कानुनले गाईगोरु काट्न वर्जित गरेको छ, मान्दिनँ भन्न पाइँदैन : लामिछाने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गाईगोरु काट्न संविधान र कानुनले वर्जित गरेका कारण कसैले पनि मान्दिनँ भन्न नपाइने बताएका छन्।

शनिबार पार्टीको काठमाडौं टोखा नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले धरानमा गाईगोरु काटेर संविधान उल्लंघन गर्दै जातीय सद्भाव भड्काउन नहुने बताए।

‘आज जातीय सद्भाव भड्काउन पाइयो भनेर भ्रष्टाचारका काण्डहरू सामसुम हुन्छ भनेर त्यतातिर आगो झोसिरहेका छन्। त्यो आगोमा म पेट्रोल मट्टीतेल हाल्दिनँ। पानी छ भने हाल्छु। नेपालको कानुनलाई मिच्न पाइँदैन। संविधानले गाईगोरु काट्न पाइँदैन भनेर स्पष्ट भनेको छ। कानुनी रूपमा वर्जित काम गर्न पाइँदैन। कानुन मान्दिनँ भन्न पाइँदैन,’ उनले भने।

सभापति लामिछानेले सबै जातजाति मिलेर बनाएको संविधान मान्दिनँ भन्न नहुने बताए। उनले एक अर्काबीचमा वैमनष्य खडा गरेर राजनीतिको रोटी सेक्ने काम नगर्न चेतावनी दिएका छन्।

‘यो कानुन विभिन्न जातजाति धर्मावलम्बीहरू बसेर बनाएको होइन र? यसलाई हामीले पालना गर्नु कर्तव्य हो। एकअर्काको आस्था र विश्वासमाथि आँच आउने कार्य हामी कसैले पनि गर्नुहुँदैन। सद्भाव खलबल्याउने र एक अर्का बीचमा वैमनष्य खडा गरेर राजनीतिको रोटी सेक्ने काम गर्नुहुँदैन। हामी एकअर्काविरुद्ध लड्न आएका होइनौं। यही कुरालाई बंग्याएर समाजलाई द्वन्द्वतर्फ लैजान लागिरहेका छौं,’ उनले भने। -थाहा खबर 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation