लुम्बिनीमा १३ महिनामा जंगली च्याउ खाँदा ८ जनाको मृत्यु, १६१ जना बिरामी

दाङ । गत २६ असारमा जंगलमा घाँस काट्न जाँदा रोल्पा लुंग्री गाउँपालिका–५ बुझिङकी ३३ वर्षीया भीमा गुरुङले च्याउ लिएर फर्किइन् । बेलुका त्यसैको तरकारी पकाएर दुई छोरा र उनले त्यसैसँग खाना खाए र सुते ।

अर्कोदिन घरमा तीनै जना बिरामी परे । स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्न गए, अवस्था झन् गम्भीर बन्दै गएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइयो । तर दुईदिनको अन्तरालमा भीमा, उनका ११ वर्षका छोरा प्रेम र ५ वर्षका छोरा सुशीलको मृत्यु भयो ।

त्यसै गाउँकी २६ वर्षीया बिमला बिकको पनि जंगली च्याउ खाँदा ज्यान गयो । २६ असारमा जंगलबाट ल्याएको च्याउको तरकारी बिमलासहित परिवारका ४ सदस्यले खाएका थिए । रोल्पामा प्राथामिक उपचारपछि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा लगिएका उनीहरुमध्ये बिमलाको मृत्यु भयो भने तीन जनालाई निको भए ।

साउन २९ गते घर नजिकैको जंगलमा भेटिएको च्याउ खादा दाङ बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार, उनका श्रीमान् र छोरी बिरामी परे । ११ वर्षीया छोरी अस्मिताको प्रादेशिक अस्पताल बुटवलमा साउन ३१ गते उपचारकै क्रममा मुत्यु भयो । त्यसको दुईदिनपछि आमा ई रीको पनि उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो । मृतकका श्रीमान अजय सुनार भने उपचारपछि निको भए ।

लुम्बिनी प्रदेशमामात्र पछिल्लो १३ महिनामा जंगली च्याउ खाएर ८ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । बर्दिया र रोल्पामा ३/३ जना र दाङमा २ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए ।

जंगलमा उम्रेको विषालु च्याउ खादा १३ महिनामा प्रदेशभर १ सय ६१ जना बिरामी परेको उनले बताए । उनका अनुसार दाङमा ३४ जना, बर्दियामा ३ जना, रोल्पामा ९ जना, कपिलवस्तुमा १०, बाँकेमा १९, गुल्मीमा ५, नवलपरासीमा ४, प्युठानमा २, जना र रुपन्देहीमा एक जना बिरामी परेको तथ्यांक छ ।

सावधानी र सचेतना छैन

गत असार २६ गते जंगलकै च्याउ खाँदा रोल्पाको लुंग्रीमा एकै महिनामा चार जनाको मृत्यु भयो । एउटै गाउँकै ११ जना पनि बिरामी परेका थिए ।

तर पनि गाउँमा जंगली च्याउ खाने क्रम रोकिएन । पहाडी गाउँहरु वस्तीहरुमा च्याउ खाने जंगली च्याउ खाने प्रचलन नरोकिएकाले बर्सेनी समस्या यथावत रहेको बताउँछिन्, लुंग्री गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी गुरुङ ।

उनका अनुसार पहाडी गाउँ बस्तीमा घास दाउरा गर्न जंगलमा जाने र त्यहाँ भेटिएका च्याउहरुलाई तरकारी बनाएर खाने प्रचलन छ ।

‘वर्षौंदेखि जंगलको च्याउ खाने प्रचलन गाउँघरमा चल्दै आएको छ । धेरैलाई जंगली च्याउ विषालु च्याउले ज्यान नै लिन सक्छ भन्ने पनि थाहाँ हुँदैन’, उनी भन्छिन्, ‘कुन च्याउ खाने र कुन नखाने भनेर चिन्न नसक्दा विरामी परेका र मृत्यु भएका घटना छन् ।’

उनले यसका लागि पहाडी गाउँ वस्तीमा विषालु च्याउबारे जनचेतना फैलाउनु पर्ने बताइन् ।जंगलमा पाइने विषालु च्याउले ज्यानै लिन सक्ने भएकाले पहिचान गरेर मात्र खानुपर्ने चिकित्सकहरु बताउँछन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा. अजयराज गौतमले पहिचान नखुलेका घरवरीपरी र जंगलमा भेटिने च्याउहरु खान नहुने बताउँछन् ।

‘जंगलमा भेटिएका सबै च्याउ खान उपयुक्त हुँदैनन्, ती कतिपय विषालु हुन सक्छन् र ज्यानै पनि जान सक्छ’, उनी भन्छन् ।

कुन च्याउ विषालु कुन खान योग्य भनेर चिन्न मुश्किल हुने भएकाले घरमै बनाएका र व्यवसायिक रुपमा पालिएका च्याउ बाहेक नचिनेका च्याउहरु खानै नहुने उनी सुझाउँछन् ।

उनले विषालु च्याउले ज्यानै नलिए पनि स्वास्थ्यमा असर पुग्ने बताए । ‘मृत्यु नै नभए पनि च्याउको प्रकृति र बिरामीको अवस्थामा हेरेर शरीरमा असर हुन सक्छ’ उनले भने, ‘विषालु च्याउले कलेजो र फोक्सो, मष्तिष्कमा असर गर्छ ।’ -अनलाइन् खबर 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation