
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधिनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताएका छन्। आज बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले कसैबाट हुन्न र केही हुन्न भन्दै निराशा बाँड्न खोजिएको उल्लेख गर्दै निराशा बाँडेर सामन्तवाद ब्यूँताउन खोजिएको बताए ।
प्रधानमन्त्रीले भने, ‘नेपालको राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमसत्ताको रक्षाको निम्ति जनयुद्ध जसरी म अहिले पनि लडिरहेको छु । लडाइँको रूप फेरिएको छ तर लडाइँ जारी छ । त्यसमा विश्वस्त रहन सबैमा म अपील गर्न चाहन्छु ।’
प्रधानमन्त्रीले आफूहरू जटिल परिस्थितिमा पनि देशको राष्ट्रिय हित, सार्वभौमसत्ता र आत्म निर्णयको अधिकारको सुनिश्चित कसरी गर्ने भन्नेमा लागेको बताए। धेरै अप्ठ्याराहरूको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सबैभन्दा ठूलो राष्ट्र, जनता, समाजवाद, सुशासन, सामाजिक न्याय र समृद्धि भएको बताए। उनले अहिले पनि पूँजीपतिहरूले वर्तमान गणतन्त्रलाई फाँसीवादी, दलालहरूको गणतन्त्र वा गणतन्त्र नै उल्ट्एर सामन्ती तत्वहरूसँग सम्झौता गर्न चाहिरहेको बताए।
अहिले मोर्चा घोषणाले मात्र नपुग्ने बरू प्रतिक्रियावादी अझै षडयन्त्र गरेर जान्छन् भने यिनै नेताहरू लाखौं जनताको सडकमा नेतृत्व गरेर ती सबै शक्तिहरूलाई परास्त गर्न सक्ने उनको भनाई थियो । प्रधानमन्त्री प्रचण्डले जनतालाई समाजवादको प्रशिक्षण दिँदै आन्दोलित गराउनुपर्ने बताउँदै नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए।